विपद्को पूर्वतयारी नहुँदा होक्लावाडीवासी चिन्तित

काठमाडाैं | असार १, २०७९

विपद्को पूर्वतयारी नहुँदा होक्लावाडीवासी चिन्तित सांकेतिक तस्बिर


काठमाण्डौँ :         विपद्को पूर्वतयारी नहुँदा मनसुन सुरु भएसँगै गौरीगञ्ज गाउँपालिका–१ होक्लाबाडी बस्तीका बासिन्दामा चिन्ता थपिन सुरु भएको छ । गत कात्तिकमा आएको बेमौसमी वर्षाका कारण कनकई नदीको बाँध फुटेर सो क्षेत्र टप्पुमा परिणत भएको छ । बस्तीको वरिपरि रहेका खोलामा बर्सातसँगै पानीको बहाव बढ्न थालेपछि उनीहरुलाई अब कसरी जीउधन बचाउने भन्ने चिन्ताले पिरोल्ने गरेको स्थानीयवासीको भनाइ छ । 

    

होक्लावाडी बस्तीको पूर्व र उत्तरमा कनकाई नदी, पश्चिममा बनियानी खोला बगिरहेको छ । बस्तीमा पूर्वबाट बाँध फुटाएर पसेको कनकाई नदी रोक्न जनताको तटबन्धन कार्यक्रमअन्तर्गत ६०० मिटर ढुङ्गा जालीको बाँध बाँधिएको छ । पूर्वत्तरमा भने बजेट अभावमा स्थानीयवासीले नै बोरामा बालुवा भरेर बाँसको टाटी लगाएर २०० मिटर अस्थायी कच्ची बाँध बनाएका छन् ।  

    

“बालुवा न हो ठूलो पानी आउने बित्तिकै खोलाले लगिहाल्छ, ढुक्क हुने अवस्था छैन,” स्थानीयवासी राजभक्त सुनुवारले भन्नुभयो, “विपद्को पूर्वतयारी कहीँ कतैबाट अहिलेसम्म भएको छैन ।” उहाँका अनुसार सो क्षेत्रमा हाल १०३ घर परिवारको बसोबास छ । 

  

 जिल्लाकै डुबान र बाढीको अति जोखिम स्थानका रुपमा रहेको होक्लाबाढीका बासिन्दा असार, साउन, भदौ महिनाभरि ढुक्कले सुत्न नसक्ने अवस्था रहेको बताउँछन् । वरिपरि खोला रहेकाले सो क्षेत्रका बासिन्दा बर्सातको समयमा ज्यान जोगाउनसमेत अन्यत्र जान नसक्ने बताउँछन् । स्थानीय जनप्रतिनिधिसमेत रहनुभएका सुनुवारले बस्तीमा खोला पसेपछि विगतदेखि अपाङ्ग, ज्येष्ठ नागरिक, सुत्केरी, महिला तथा बालबालिकालाई स्थानीय क्षेत्रमा रहेको इन्द्रेणी आधारभूत विद्यालयमा राख्ने गरेको बताउनुभयो । 

    

उहाँले इलामको राँके, कन्याम र मैनाचुलीमा रहेको बाढी मापन केन्द्रबाट खोलामा पानीको बहाव बढेको र सुरक्षित स्थानमा बस्नका लागि मोबाइलमा म्यासेज पठाएपछि स्कुलतिर सबैलाई बोलाउने गरेको बताउनुभयो । “मर्न कसैलाई मन हुँदैन, बाँच्नु त पर्यो नि”, उहाँले भन्नुभयो, “रात, साँझ केही भनी म्यासेज आएपछि सुरक्षित रहन स्कुलतिर जान्छौँ ।”

    

उहाँका अनुसार जिल्लाका अन्य निकाय अझैसम्म गाउँमा आएर विपद् पूर्वतयारीका लागि आवश्यक तयार नगरे पनि लुथरन विश्व फेडेरेशन नेपालले भने सो क्षेत्रका बासिन्दाका समस्याबारे बुझ्ने, परामर्श दिने, छलफल गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले बाढीबाट प्रभावित भएमा होक्लाबाडीवासीका लागि झूल, खाना पकाउने, एलपी ग्यासका सिलिन्डर, दाउरा, ओच्छ्याउनका लागि म्याट लगायतको व्यवस्था गरिदिएको बताउनुभयो ।

  

 गाउँपालिका अध्यक्ष फूलमती राजवंशीले भने विपद् प्रकोप क्षेत्रको अनुसन्धान र चाहिने सामग्रीका बारेमा अध्ययन गर्न बाँकी रहेको बताउनुभयो । “अध्ययन गर्न बाँकी छ, प्रभावित क्षेत्रको अवस्थाबारे अहिले नै केही भन्न सक्दिन ।”उहाँले भन्नुभयो ।  विगतको तथ्याङ्कलाई हेर्ने हो भने पालिकाको वडा नं १ मात्र होइन छवटै वडा बाढीको जोखिममा छन् । 

    

जिल्लाको राजमार्ग उत्तरभन्दा दक्षिणी क्षेत्रमा बढी डुबान र कटान हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापा जनाएको छ ।  रेडक्रसका अनुसार झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिका पानीको निकास जाने ठाउँ नहुँदा बढी डुबानको जोखिममा रहेका छन् । 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्